काठमाडौं । बेलायतको संसद् हाउस अफ कमन्सकी उपसभामुख क्यारोलिन नोक्सले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।
बेलायत भ्रमणमा रहेकी पूर्वउपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले लन्डनस्थित हाउस अफ कमन्समा उपसभामुख नोक्ससँग भेट गरी नेपालमा आएको बाढी, त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, जलवायु न्याय र नेपालले पाउनुपर्ने क्षतिपूर्तिको विषय उठाएकी थिइन् ।
भेटका क्रममा रानामगरले नेपाल र बेलायतबीच लामो समयदेखि ऐतिहासिक सम्बन्ध रहेको स्मरण गराउँदै नेपालको विपत्तिमा बेलायतको संसद् र सरकारले सहयोग गर्नुपर्ने अपेक्षा व्यक्त गरिन् ।
उनले बेलायतका लागि नेपाली गोर्खा सैनिकले पुर्याएको योगदानको चर्चा गर्दै नेपालको विपत्तिमा बेलायतले साथ दिनुपर्ने बताइन् । साथै, जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका समस्याबारे बेलायतको संसद्मा आवाज उठाइदिन पनि उनले उपसभामुख नोक्सलाई आग्रह गरिन् ।
जवाफमा उपसभामुख नोक्सले नेपाललाई बेलायतले आफ्नो परिवारकै सदस्यसरह हेर्ने बताउँदै विपत्तिको समयमा आफूहरू नेपालको साथमा रहेको धारणा राखिन् ।
उपसभामुख नोक्सले बेलायती संसद्मा नेपाललाई विशेष प्राथमिकताका साथ सहयोग गर्नुपर्ने विषयमा आवाज उठेको जानकारी गराएकी छन् ।
उनका अनुसार नेपालमा आएको विपत्तिप्रति बेलायती पक्ष गम्भीर रहेको र सरकारले सहयोग घोषणा गरिसकेको विषय पनि छलफलमा आएको थियो ।
जलवायु परिवर्तनको असर कुनै एउटा देशको मात्र समस्या नभई सबैको साझा दायित्व भएको उल्लेख गर्दै नोक्सले नेपालको न्यायका लागि आफ्नोतर्फबाट सहयोग र पहल गर्ने प्रतिबद्धता जनाइन् ।
भेटमा रानामगरले नेपालले भोगिरहेको प्राकृतिक विपत्तिलाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने बताएकी थिइन् ।
नेपालले जलवायु परिवर्तनमा नगन्य योगदान गरे पनि त्यसको गम्भीर असर भोगिरहेको भन्दै उनले जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउन आवश्यक रहेको बताइन् ।
विशेषगरी बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक सहयोग तथा क्षतिपूर्ति पाउनुपर्ने विषयमा उनले बेलायती पक्षको ध्यानाकर्षण गराएकी थिइन् ।
भेटका क्रममा नेपाल र बेलायतका संसद्बीच संसदीय अभ्यास तथा अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो ।
भेटमा बेलायत निवासी समाजसेवी रविन्द्रजंग लामिछाने पनि सहभागी थिए ।
यसअघि रानामगरले हाउस अफ कमन्सका अन्य सांसदहरूसँग पनि भेट गरी नेपालमा आएको विनाशकारी बाढी, त्यसबाट भएको क्षति तथा जलवायु न्यायका विषयमा छलफल गरेकी थिइन् ।