ठमेलमा युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ

1.2k Shares

काठमाडौं । काठमाडौंको ठमेलमा एक युवतीलाई अस्वाभाविक रूपमा छोएर अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१४, कलंकी बस्ने ३० वर्षीय सालिन साह रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साहले भदौ १६ गते राति करिब ८ बजे काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित सार्वजनिक सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीलाई ‘ब्याड टच’ गरेको आरोप छ ।

घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै युवतीले कारबाहीको माग गरेकी थिइन् । उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा साहलाई ठमेलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।

साहमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको भिडियोमा साह लामो कपाल र दाह्रीमा देखिएका थिए । तर, पक्राउ पर्दा उनी कपाल काटेको अवस्थामा फेला परेका थिए । प्रहरीले उनले भेस बदलेर भाग्न खोजेको हुन सक्ने आशंका गरेको छ ।

सम्बन्धित समाचार