कृष्णभीरमा सडक खुलाउन तीव्र गतिमा भिर कटान, पाँच स्काभेटर र दुई लोडर परिचालन

1.1k Shares

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा डाइभर्सनको एकतर्फी ट्रयाक खोलिएको छ । मुग्लिन–मलेखु सडक आयोजनाका इन्जिनियर धिरण ढकालका अनुसार शनिबारसम्म एकतर्फी ट्रयाक खोलिए पनि दुईतर्फी लेन नखुलेसम्म सवारीसाधन सञ्चालन गर्न सुरक्षित अवस्था नरहेको बताइएको छ ।

कृष्णभीरमा सडक खुलाउन अहिले पाँच वटा स्काभेटर र दुई वटा लोडर परिचालन गरिएको छ । भिर कटानका क्रममा करिब एक लाख घनमिटर माटो हटाउनुपर्ने भएकाले सडक पूर्णरूपमा सञ्चालनमा आउन कम्तीमा १० देखि १५ दिन लाग्ने अनुमान गरिएको छ ।

सडक खुलाउने क्रममा आठ मिटर चौडाइ र २६० मिटर लम्बाइमा भिर कटान भइरहेको छ । शुक्रबारदेखि कृष्णभीरको भिर काट्ने काम सुरु गरिएको हो ।

गत सोमबार कृष्णभीरमा राजमार्ग भासिएपछि पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध हुँदै आएको छ । सडक अवरुद्ध हुँदा राजधानी काठमाडौंसहित विभिन्न जिल्लातर्फको यातायात प्रभावित भएको छ ।

सम्बन्धित समाचार