लगातार दुई जित निकालेको नेपाल साउदीविरुद्ध मैदानमा उत्रिँदै

2.1k Shares

काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगिताको समूह चरणको खेलमा नेपाल र साउदीबीचको प्रतिस्पर्धा बिहान ७ः१५ बजे सुरु हुनेछ।

नेपालले प्रतियोगितामा लगातार दुई जित निकाल्दै उच्च मनोबलका साथ आजको खेल खेल्दैछ। नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले तथा दोस्रो खेलमा आयोजक मलेसियालाई छ विकेटले पराजित गरेको थियो।

दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’ को दोस्रो स्थानमा छ। साउदी अरेबियाले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ। दुई अंकसहित साउदी समूहको पुछारमा छ।

नेपाल प्रतियोगितामा सहभागी १० टोलीलाई पछि पार्दै उपाधि जित्ने लक्ष्यसहित मलेसिया पुगेको हो। उपाधि जित्ने टोलीले सन् २०२७ मा आयोजना हुने एसिया कपमा सिधै स्थान बनाउनेछ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।

नेपालले समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ। साउदी अरेबियासँग यसअघि भएका दुई खेलमध्ये नेपालले एक खेल जितेको छ भने अर्को खेल रद्द भएको थियो।

५० ओभरको क्रिकेटमा हङकङविरुद्ध नेपालको प्रदर्शन भने मिश्रित छ। नेपालले हङकङसँग खेलेका चार खेलमध्ये एकमा जित हात पारेको छ भने दुई खेलमा पराजित भएको छ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। त्यसैले सहज रूपमा सेमिफाइनल पुग्न नेपालका लागि आजको खेल महत्वपूर्ण छ। साउदी अरेबियासँग पराजित भएमा नेपालले अन्तिम खेलको नतिजासँगै रनरेटको समीकरणसमेत कुर्नुपर्ने अवस्था आउन सक्छ।

नेपालका लागि आजको खेल जितेर सेमिफाइनलको सम्भावना बलियो बनाउने अवसर रहेको छ।

सम्बन्धित समाचार