काठमाडौँ । नेपाली सेनाले रसुवाको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरेको छ ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धार गरिएका चिनियाँ नागरिक लुहाइताओ हुन् । उनलाई सुरुङभित्र करिब २२५ मिटरको दूरीबाट उद्धार गरिएको हो ।
सेनाले उद्धार गरिएको व्यक्तिको तस्वीर सार्वजनिक गर्दै घटनाबारे जानकारी दिएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको ११ औँ दिनपछि उनको उद्धार भएको हो ।
यसअघि नेपाली सेनाले त्रिशूली–३ ए आयोजनाको सुरुङबाट दुई जनाको उद्धार गरेको थियो ।
२१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरिरहेको छ । बाढीपछि आयोजनाका सुरुङमा फसेका कामदारको उद्धारका लागि नेपाली सेना तथा अन्य उद्धार टोली परिचालन भएका छन् ।