पूजाका सामग्री विसर्जन गर्दै अष्टिम्की पर्वको बिदाइ

1.2k Shares

दाङ । शुक्रबारदेखि मनाउन सुरु गरिएको अष्टिम्की पर्व थारू समुदायले शनिबार बिहान पूजापाठमा प्रयोग गरिएका सामग्री खोलामा विसर्जन गरी बिदाइ गरेको छ। अष्टिम्की थारू समुदायले श्रीकृष्ण जन्माष्टमीका रूपमा मनाउने विशेष पर्व हो।

हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन दिनभर व्रत बसेर थारू समुदायले मटावाँको घरमा श्रीकृष्णको जीवनीसहितका लोकचित्र तथा भित्तेचित्र बनाउने गर्छ। सोही चित्रमा टीका लगाई पूजापाठ गर्ने र अष्टिम्कीका गीत गाउने परम्परा छ।

घोराही उपमहानगरपालिका–१७ गुलरियाकी शर्मिला चौधरीका अनुसार अष्टिम्कीका दिन थारू महिलाहरू परम्परागत पहिरनमा सजिएर चामल, घुँस्राको फूल, ज्यामिरे र दियोसहित मटावाँको घरमा भेला हुन्छन्। त्यहाँ सामूहिक रूपमा पूजा तथा गीत गाएर पर्व मनाउने गरिन्छ।

उहाँका अनुसार पहिलो दिन साँझ अष्टिम्की चित्रमा टीका लगाई पूजापाठ गरेपछि महिलाहरूले सामूहिक रूपमा गीत गाउँछन्। त्यसपछि घरमा फर्किएर फलफूल र दही खाई पुनः मटावाँको घरमा गएर रातभर अष्टिम्की गीत गाउने चलन छ।

दोस्रो दिन बिहान पुनः मटावाँको घरमा गई पूजापाठ गर्ने र पूजामा प्रयोग गरिएका सामग्री नजिकैको खोलामा लगेर जलमा विसर्जन गरी पर्वको बिदाइ गर्ने परम्परा रहेको चौधरीले बताउनुभयो। त्यसपछि घरमा गएर तीनदेखि पाँच थरीका तरकारीसहित विभिन्न मिठा परिकार बनाएर खाने गरिन्छ।

अष्टिम्की पर्वमा खाना खानुअघि आफ्ना दाजुभाइका नाममा आफूले खाने परिकारको आधा भाग छुट्याउने चलन पनि छ। छुट्याइएको खाना तथा परिकार दाजुभाइलाई अग्रासन (कोसेली) का रूपमा दिने गरिन्छ। यसले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास थारू समुदायमा रहेको छ।

थारू समुदायका महिलाको विशेष पर्वका रूपमा मनाइने अष्टिम्कीमा मटावाँको घरको बह्री (बैठक कोठा) को उत्तरतर्फको भित्तामा लिपपोत गरी सेतो चुन लगाएर कान्हासहित विभिन्न लोकचित्र तथा भित्तेचित्र बनाउने गरिन्छ। सोही चित्रमा पूजापाठ सुरु भएसँगै सामूहिक रूपमा अष्टिम्की गीत गाउने प्रचलन रहेको छ।

सम्बन्धित समाचार