अष्टिम्की पर्वमा थारू महिलाको मौलिक परम्परा र उल्लास

1.2k Shares

दाङ । थारू समुदायका महिलाले शुक्रबारदेखि अष्टिम्की पर्व मनाउँदै छन् । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन मनाइने यो पर्व यस वर्ष पनि विभिन्न परम्परागत विधि पूरा गरी मनाइँदैछ ।

दुई दिनसम्म धुमधामका साथ मनाइने अष्टिम्की थारू समुदायका महिलाले विशेष रूपमा मनाउने पर्व हो । पर्वको अघिल्लो दिन महिलाहरू दिनभर निराहार व्रत बस्ने गर्छन् । साँझ अष्टिम्की पूजा गरिन्छ भने दोस्रो दिन व्रत समापनसँगै विभिन्न परम्परागत विधि पूरा गरिन्छ ।

घोराही उपमहानगरपालिका–१२, हापुरकी सुशीला चौधरीका अनुसार अष्टिम्कीको पहिलो दिन बिहानै मटावाँको घरको बैठक कोठाको उत्तरतर्फको भित्तालाई लिपपोत गरी सेतो चुनले रङ्गाएपछि श्रीकृष्णको जीवनीसँग सम्बन्धित चित्र कोर्ने गरिन्छ ।

भित्तामा बनाइने चित्रमा श्रीकृष्ण अर्थात् कान्हासँगै सूर्य, चन्द्रमा, कौरवका सात भाइ, दुलाहा–दुलही, दुलहीलाई पठाउन प्रयोग गरिने ‘डोली’ र दुलाहालाई पठाउन प्रयोग गरिने ‘ड्वाला’ लगायतका चित्र समावेश गरिन्छ । त्यस्तै माछा, गंगटा, बाघ, हात्ती, मयूर, सर्प, गाईलगायत विभिन्न चराचुरुङ्गी तथा जनावरका चित्रसमेत कोर्ने परम्परा छ ।

“अष्टिम्कीको दिन भित्तामा कोरिने चित्र हाम्रो संस्कृति, परम्परा र सभ्यता पनि हो,” चौधरीले भन्नुभयो, “चित्र बनाइसकेपछि साँझ गाउँभरिका महिला नजिकैको खोलामा स्नान गरेर पूजा गर्न मटावाँको घरमा जम्मा हुन्छन् ।”

महिलाहरू आफ्नै मौलिक पहिरनमा बलिरहेको दियो र रङ्गीचङ्गी फूल लिएर मटावाँको घरमा पुग्ने गर्छन् । गाउँभरिका महिला जम्मा भएपछि मटावाँकी श्रीमतीबाट अष्टिम्की पूजाको सुरुवात हुने परम्परा रहेको चौधरीले बताउनुभयो ।

“पूजापाठ गर्दा निकै रमाइलो हुन्छ । ठुलाबाट सानाले क्रमशः पूजा गर्ने चलन छ । पूजासँगै सामूहिक रूपमा अष्टिम्कीका गीत गाउने प्रचलन छ,” उहाँले भन्नुभयो ।

पूजा सकिएपछि महिलाहरू घर–घरमा पुगेर फलफूल र दही खाने गर्छन् । त्यसपछि पुनः मटावाँको घरमा जम्मा भएर रातभर अष्टिम्कीका गीत गाउँदै जाग्राम बस्ने परम्परा छ ।

अष्टिम्कीको दोस्रो दिन बिहान महिलाहरूले पुनः अष्टिम्की टिकेर पूजा कार्य सम्पन्न गरेपछि पूजामा प्रयोग भएका सबै सामग्रीसहित बलिरहेको दियो, ज्यामिरे र फूलहरू नजिकैको खोलामा लगेर सेलाउने गर्छन् ।

खोलामा पूजाका सामग्री सेलाएपछि नुहाइधुवाइ गरेर घर फर्किने र विभिन्न मिठामिठा परिकार खाँदै अष्टिम्की पर्वको समापन गर्ने गरिन्छ । अष्टिम्की पर्व दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारू समुदायका महिलाले उल्लासमय वातावरणमा मनाउँदै आएका छन् ।

सम्बन्धित समाचार