काठमाडौँ । रसुवा बाढीपछि त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले सुरुङभित्रबाट मानिसको आवाज सुनिएको बताएका छन् ।
न्यौपानेले शुक्रबार सामाजिक सञ्जालमार्फत उद्धार कार्य जारी रहेको र सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको जानकारी दिएका हुन् ।
उनका अनुसार उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको थियो ।
‘उद्धार कार्य अझै जारी रहेको छ । भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धार टोलीले “नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ” भनेपछि भित्रबाट “हुन्छ” भन्ने प्रतिक्रिया प्राप्त भएको छ,’ न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन् ।
रसुवा बाढीपछि त्रिशूली नदी आसपासका जलविद्युत् आयोजनाका सुरुङमा कामदारहरू फसेको आशंकामा उद्धार प्रयास जारी छ । उद्धार टोलीले सुरुङभित्र सम्पर्क स्थापित गर्दै फसेकाहरूको अवस्थाबारे जानकारी लिने प्रयास गरिरहेको छ ।
सुरुङभित्रबाट आवाज सुनिएको जानकारीले उद्धारमा खटिएका टोली तथा आफन्तमा आशा जगाएको छ । यद्यपि, सुरुङभित्र रहेका व्यक्तिहरूको संख्या, अवस्था र उनीहरूलाई बाहिर निकाल्न लाग्ने समयबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।