इरान युद्ध अन्त्यको समयसीमा दिन अमेरिकी उपराष्ट्रपति भान्सको अस्वीकार

2.6k Shares

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्व कहिले अन्त्य हुन्छ भन्ने प्रश्नको स्पष्ट जवाफ दिन अस्वीकार गरेका छन् ।

बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा एक पत्रकारले इरान युद्ध कहिले अन्त्य हुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा भान्सले यसको उत्तर आफूलाई थाहा नभएको बताउँदै ‘त्यो प्रश्न तपाईंले इरानीहरूलाई सोध्नुपर्छ’ भने ।

भान्सले जारी द्वन्द्वलाई ‘युद्ध’ भनेर सम्बोधन गर्ने विषयमै प्रश्न उठाए । ‘म यसलाई युद्ध भन्दिनँ । अहिले सक्रिय गोलीबारी भइरहेको छैन,’ उनले भने । यद्यपि, केही स्थानमा द्वन्द्व पुनः चर्किएको उनले स्वीकार गरे ।

उनका अनुसार मुख्य सैन्य कारबाही करिब ६ हप्तासम्म चलेको थियो । अमेरिकी कारबाहीले इरानको रक्षा उत्पादन क्षमता कमजोर बनाउन सफलता हासिल गरेको दाबी पनि उनले गरे ।

पत्रकार सम्मेलनमा भान्सले स्ट्रेट अफ हर्मुजको विषयसमेत उठाए । उनले महत्त्वपूर्ण व्यापारिक जलमार्गबाट जहाज आवतजावत गर्न इरानले अवरोध गरिरहेको आरोप लगाए ।

‘यो कहिले अन्त्य हुन्छ भनेर सोध्दा तपाईंले मलाई इरानीहरूले जहाजमाथि गोली चलाउन कहिले रोक्छन् भनेर प्रश्न गरिरहनुभएको छ,’ भान्सले पत्रकारहरूलाई भने ।

अमेरिका र इरानबीच केही दिनदेखि जारी सैन्य भिडन्तको प्रभाव विश्वव्यापी ऊर्जा मूल्यमा परेको छ । अमेरिकाभित्र पनि द्वन्द्वप्रति जनसमर्थन घटिरहेको समाचारमा उल्लेख छ । भान्सले युद्ध अन्त्य हुने सम्भावित समयसीमा नदिए पनि अमेरिकी कारबाहीको प्रभावबारे भने सकारात्मक धारणा व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार