रसुवा बाढीबारे संसद् एकमत, विशेष प्रस्ताव पारित

1.1k Shares

काठमाडौँ । प्रतिनिधिसभाले रसुवा तथा भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकले बाढी तथा पहिरोबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो। बैठकले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

प्रस्तावमार्फत बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन र क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारको पुनर्निर्माणमा प्राथमिकता दिन सरकारलाई आग्रह गरिएको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीले जलविद्युत् आयोजना, सडक, पुल, घर तथा सार्वजनिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ।

प्रतिनिधिसभाले विपद् व्यवस्थापनमा राज्यका सबै संयन्त्रलाई थप प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रभावित नागरिकलाई दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।

 
 
सम्बन्धित समाचार