विपद्का कारण बाढी प्रभावित क्षेत्रमा विद्यालय बन्द

1.5k Shares

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विद्यालय सञ्चालन गर्न कठिन भएपछि केही विद्यालयको पठनपाठन अनिश्चितकालका लागि बन्द गरिएको छ। बाढीका कारण विद्यालय भवनमा क्षति पुगेको, सडक तथा पुल बगेको र विद्यार्थीको आवागमन असुरक्षित बनेपछि यस्तो निर्णय गरिएको हो।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार रसुवा, नुवाकोट र धादिङका गरी १८ विद्यालयमा बाढीले पूर्ण, आंशिक तथा सामान्य क्षति पुर्‍याएको छ। रसुवामा ५, नुवाकोटमा ७ र धादिङमा ८ विद्यालय प्रभावित भएका छन्।

बाढीका कारण कतिपय विद्यालयमा हिलो र माटो भरिएको छ भने केही विद्यालयका भवन तथा शैक्षिक सामग्रीमा समेत क्षति पुगेको छ। धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित बागेश्वरी माध्यमिक विद्यालयमा बाढी पसेपछि नेपाली सेनाले सरसफाइ गरिरहेको छ।

यस्तै, नुवाकोटका केही क्षेत्रमा विद्यालय जाने क्रममा पुल बगेपछि विद्यार्थीहरू बाटोमै अलपत्र परेको र परिवारसँग सम्पर्कविहीन हुनुपरेको अवस्थासमेत देखिएको छ।

बाढीबाट प्रभावित विद्यार्थीको पढाइ निरन्तरता दिन वैकल्पिक भवन तथा सुरक्षित स्थानको व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ। नुवाकोटको बाढी प्रभावित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन वैकल्पिक भवन तथा शैक्षिक सामग्री व्यवस्थापनमा सहयोग गर्ने पहलसमेत अघि बढेको छ।

यसैबीच, बाढीपहिरोको जोखिम बढेका अन्य क्षेत्रमा पनि स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरिरहेका छन्। रोल्पाको सुनछहरी गाउँपालिकाले निरन्तर वर्षा, सडक अवरोध र बाढीपहिरोको जोखिमका कारण पाँच दिनका लागि सबै विद्यालय बन्द गरेको थियो।

 
 
 
सम्बन्धित समाचार