भोटेकोसी बाढीमा मृत्यु भएका सात बेवारिसे शव पाल्पामा व्यवस्थापन

897 Shares

तानसेन । भोटेकोसी बाढीमा परी मृत्यु भएका तथा पहिचान खुल्न नसकेका सात जनाको शव पाल्पामा व्यवस्थापन गरिएको छ। जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार तानसेन–१, गोर्खेकोटस्थित सामुदायिक वन क्षेत्रमा ती शव व्यवस्थापन गरिएको हो।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार पहिचान नखुलेका तथा बेवारिसे शवलाई विपद् व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका–२०८३ अनुसार व्यवस्थापन गर्ने निर्णय भएको थियो।

पाल्पा ल्याइएका पहिचान नखुलेका आठ शवमध्ये सात जनाको डीएनए परीक्षणका लागि नमुना तथा हुलिया विवरण सङ्कलन गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो।

भोटेकोसी बाढीमा परी मृत्यु भएका तथा पहिचान नखुलेका शव त्रिवेणीबाट पाल्पाका तीन अस्पतालका शवगृहमा ल्याएर राखिएको थियो। पाँच दिनअघि पाल्पा ल्याइएका शव पाल्पा अस्पताल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज, प्रभासको शवगृहमा राखिएका थिए।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार सबै शवबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन तथा हुलिया विवरण लिएपछि खाल्डो खनेर व्यवस्थापन गरिएको हो।

व्यवस्थापन गरिएका सात शवमा तीन पुरुष, दुई महिला, एक बालक र एक बालिका रहेका छन्।

एक महिलाको शव अस्पतालमै

पाल्पा ल्याइएका आठ शवमध्ये एक महिलाको शव भने अझै पाल्पा अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीका अनुसार उक्त शवको प्रारम्भिक पहिचान खुलेपछि नुवाकोटबाट आफन्त पाल्पा आउँदै गरेका कारण तत्काल व्यवस्थापन नगरिएको हो। करिब ४५–४६ वर्ष उमेरकी महिलाको शव आफन्तलाई बुझाउने प्रक्रिया पूरा गर्न अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

भोटेकोसी बाढीपछि त्रिशूली तथा नारायणी नदीको बहावमा बगेर विभिन्न स्थानमा शव भेटिएपछि पहिचान खुल्न नसकेका शवलाई सम्बन्धित निकायले डीएनए परीक्षण तथा हुलिया विवरण सङ्कलन गरी व्यवस्थापन गर्दै आएका छन्।

सम्बन्धित समाचार