बाढीको ६ दिनपछि खोज–उद्धार र राहतका लागि प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाइने

1.2k Shares

काठमाडौं । भोटेकोसी–त्रिशूली बाढी आएको ६ दिनपछि प्रभावितको खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका लागि प्रदेश, जिल्ला र स्थानीय तहसम्म सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको छ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले केन्द्रमा जस्तै प्रदेश, जिल्ला र स्थानीय तहसम्म राजनीतिक संयन्त्र बनाएर बाढी प्रभावित क्षेत्रमा काम गर्ने निर्णय गरेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए।

उनका अनुसार पालिकामा पालिका अध्यक्ष र प्रदेशमा मुख्यमन्त्रीको नेतृत्वमा संयन्त्र बनाएर अघि बढ्न सरकारलाई सुझाव दिइएको छ।

‘केन्द्रमा हामीले जसरी सर्वदलीय संयन्त्र बनाएर छलफल गरिरहेका छौँ, त्यसैगरी प्रदेश, जिल्ला र स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर जाने कुरा भएको छ,’ ज्ञवालीले भने।

बैठक प्रधानमन्त्रीले बोलाउनुपर्ने भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वदलीय बैठक आयोजना गरेको उनले बताए।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार केन्द्रमा रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएजस्तै बागमती प्रदेश, बाढी प्रभावित जिल्ला र स्थानीय तहमा पनि राजनीतिक संयन्त्र गठन गर्ने सहमति भएको छ।

नयाँ संयन्त्रमार्फत बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाको कामलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।

भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापन र राहत वितरणको काम जारी छ।

सर्वदलीय संयन्त्रले स्थानीय तहसम्मै राजनीतिक दलहरूलाई सहभागी गराएर सरकारका राहत तथा पुनर्स्थापनाका काममा समन्वय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार