धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र वरिष्ठ नेता सुदन किराँतीबीच पार्टी एकता भएको चार महिना नबित्दै खटपट सुरु भएको छ। एकतापछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकमा किराँती पक्षलाई प्रवेश गर्न नदिएपछि दुई नेताबीचको असमझदारी सार्वजनिक भएको हो।
धरानमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष साम्पाङ पक्षले किराँती पक्षका नेताहरूलाई प्रवेश गर्न नदिएको जनाइएको छ। दुई नेताबीच असन्तुष्टि उत्पन्न हुनुको कारण भने स्पष्ट भइसकेको छैन। बुधबारको बैठकमा किराँती पक्षलाई बोलाइने वा नबोलाइने विषयसमेत टुंगो लागेको छैन।
प्रगतिशील लोकतान्त्रिक पार्टी छाडेर श्रम संस्कृति पार्टीमा समाहित भएका किराँतीलाई अध्यक्ष साम्पाङले कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्दै पार्टीमा भित्र्याउनुभएको थियो। त्यसपछि दुई नेताबीचको सहकार्यले कोशी प्रदेशमा राजनीतिक रूपमा नयाँ समीकरण बन्ने अपेक्षा गरिएको थियो।
पार्टी एकताका क्रममा किराँतीसँगै आएका नेताहरूमध्ये एक जनालाई उपाध्यक्ष, एक जनालाई सचिव र १५ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो। उनीहरूलाई समेटिएपछि श्रम संस्कृति पार्टीको केन्द्रीय समिति ४१ सदस्यीय बनेको थियो।
केन्द्रीय समिति बैठकमा सहभागी हुन किराँती पक्षका नेताहरू धरान पुगेका थिए। तर, साम्पाङ पक्षले प्रवेश रोक लगाएपछि उनीहरू बैठकस्थल बाहिरै रहेका छन्। उनीहरूबीच धरानमै अनौपचारिक छलफल भइरहेको पार्टी निकट स्रोतले जनाएको छ।
किराँती पक्षलाई बैठकमा प्रवेश नदिइनु एकतापछि पार्टीको पहिलो केन्द्रीय समिति बैठक भएकाले पनि अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकमा पार्टीभित्र जिम्मेवारी बाँडफाँट तथा एकताको सन्देश प्रवाह गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको थियो।
किराँतीसँगै पार्टीमा पदाधिकारीको जिम्मेवारी पाएका उपाध्यक्ष प्रकाश विकल्प र सचिव टीकाराम राईलगायत नेताहरूको आगामी भूमिकालाई लिएरसमेत चासो बढेको छ।
चार महिनामै अध्यक्ष साम्पाङ र वरिष्ठ नेता किराँतीबीच देखिएको असमझदारीले श्रम संस्कृति पार्टीभित्रको एकता र आगामी राजनीतिक यात्राबारे प्रश्नसमेत उठाएको छ।