नेपालगन्ज । बाँकेको नेपालगन्ज रोडबाट भारतका प्रमुख धार्मिक सहर अयोध्या, गोरखपुर र बनारससम्म सिधा ब्रोडगेज रेल सेवा सुरु भएको छ। लामो समयको प्रतीक्षापछि सोमबारदेखि सुरु भएको रेल सेवाले नेपाल–भारतबीच धार्मिक पर्यटन तथा व्यापारिक आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्नुभएको हो।
नयाँ रेल सेवाले नेपालबाट भारतका प्रमुख धार्मिकस्थलमा जाने नेपाली तीर्थयात्री तथा भारतबाट नेपालका धार्मिकस्थल भ्रमणमा आउने भारतीय पर्यटकलाई सहज हुने पर्यटन प्रवर्द्धन मञ्च, बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार रेल सेवामार्फत पश्चिम नेपालका नागरिकलाई अयोध्यास्थित राम मन्दिर, गोरखपुरको गोरखधाम र बनारसको विश्वनाथ मन्दिर पुग्न सहज हुनेछ। त्यसैगरी भारतका धार्मिक पर्यटकलाई नेपालगन्जको बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्वारीलगायतका धार्मिकस्थलमा आउन पनि सहज हुने उहाँले बताउनुभयो।
“अब पश्चिम नेपालका नेपालीका लागि अयोध्या, गोरखपुर र बनारस पुग्न सहज भएको छ। त्यसैगरी उताका धार्मिक पर्यटकलाई पनि नेपालका धार्मिकस्थल पुग्न निकै सहज भएको छ,” श्रेष्ठले भन्नुभयो।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज नजिकैबाट प्रत्यक्ष रूपमा राम्रो रेल सेवा सुरु भएकाले यसको पहिलो लाभ नेपालगन्ज सहरले पाउने बताउनुभयो। रेल सेवाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ।
नेपालगन्जबाट भारतका प्रमुख धार्मिक तथा पर्यटकीय सहरसम्म रेल सम्पर्क विस्तार भएपछि पश्चिम नेपाल र उत्तर भारतबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ। यसबाट धार्मिक पर्यटनसँगै व्यापारिक गतिविधि विस्तारका लागि समेत नयाँ अवसर सिर्जना हुने बताइएको छ।