काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज पहिलोपटक बस्दै छ । राष्ट्रिय सभा बैठक मङ्गलबार बस्न लागेको हो ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिनेछ ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठकमा शून्य र विशेष समय रहनेछ । त्यसपछि निर्धारित कार्यसूचीअनुसार बैठक अघि बढ्नेछ ।
यसअघि भदौ ९ गते बसेको राष्ट्रिय सभा बैठक सम्पन्न भएपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहाल कम्बोडिया जानुभएको थियो । ‘अन्तरसंसद् सभाध्यक्षहरूको सम्मेलन’मा सहभागी हुन कम्बोडिया जानुभएका अध्यक्ष दाहाल यसै साता स्वदेश फर्किनुभएको हो ।
यसैबीच राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ का संशोधन प्रस्तावलगायत विषयमा विज्ञहरूसँग छलफल गरेको छ ।
समितिका सभापति कृष्णबहादुर रोकायका अनुसार राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीको कार्यालय वा गृह मन्त्रालयमातहत राख्ने विषयमा मात्र नभई विभागलाई कहाँ राख्दा उपयुक्त हुन्छ, अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ र विभागको परिचालनमा हुन सक्ने दुरुपयोग रोक्न कस्ता कानुनी व्यवस्था आवश्यक छन् भन्ने विषयमा विज्ञको सुझाव लिइएको हो ।
समितिले लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, पूर्वसचिव आत्माराम पाण्डे र पूर्वप्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतसँग छलफल गरेको छ ।
सभापति रोकायले आगामी बैठकमा विधेयकमाथि दफावार छलफल गरिने जानकारी दिनुभएको छ।