रसुवागढी विद्युत् गृहमा फसेका कर्मचारीको उद्धार प्रयास असफल

1k Shares

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजनाको भूमिगत पावर हाउसमा फसेका कर्मचारीलाई जीवितै उद्धार गर्ने प्रयास सफल हुन सकेन। पानी, हिलो र लेदो सुरुङभित्रै भरिएकाले नेपाली सेनासहितको उद्धार टोली पावर हाउससम्म पुग्न नसकी फर्किएको हो।

आयोजनाका सचिव नरनाथ न्यौपानेका अनुसार पावर हाउस जमिनको सतहबाट करिब २५० मिटर भित्र रहेको छ। त्यहाँ नियमित रूपमा ३ देखि ५ जना कर्मचारी बस्ने तथा कार्यालय र बस्ने–खाने व्यवस्था पनि पावर हाउस क्षेत्रमा नै रहेको उनले बताए।

बाढी आएपछि बाहिर रहेका कर्मचारीसमेत सुरुङभित्र पस्न पुगेको हुन सक्ने आयोजनाको अनुमान छ। बाहिर रहेका करिब १४ देखि १६ जना कर्मचारी पनि भित्र छिरेको हुन सक्ने बताइएको छ। तर सुरुङभित्र पानी र लेदो अत्यधिक भरिएकाले उद्धार टोली नै अघि बढ्न नसकेको हो।

सोमबार उद्धार तथा खोजी गरिएको पावर हाउस सुरुङको माथिल्लो मुखबाट करिब चार किलोमिटर तल रहेको जनाइएको छ।

यसअघि भदौ १२ गते सुरुङको मुखबाट ६ जनामध्ये ४ जनालाई सकुशल उद्धार गरिएको थियो। बाँकी दुई जना बेपत्ता छन्। उनीहरूको पनि सुरुङभित्रै मृत्यु भएको हुन सक्ने जानकारी आएको आयोजनाले जनाएको छ।

पावर हाउसमा नियमित सञ्चालन तथा सरसफाइका लागि कर्मचारी रहने भए पनि बाढीपछि भित्र ठूलो मात्रामा पानी, हिलो र लेदो पसेका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको हो।

सम्बन्धित समाचार