रसुवा । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस फसेको हुनसक्ने आशंकामा गरिएको खोजीमा कोही पनि फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली धुन्चे फर्किएको छ।
बाढीपछि सुरुङको अन्तिम भागमा मानिस फसेको हुनसक्ने आशंकाका आधारमा नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी तथा उद्धार अभियान सञ्चालन गरिएको थियो। टोली सुरुङभित्र प्रवेश गरी अन्तिम बिन्दुसम्म पुगेको थियो।
खोजीका क्रममा सुरुङभित्र ड्रोनसमेत उडाएर सम्भावित स्थानको निरीक्षण गरिएको थियो। तर, सुरुङको अन्तिम भागसम्म पुगेर खोजी गर्दा पनि कुनै मानवीय उपस्थिति फेला नपरेको सेनाले जनाएको छ।
सुरुङको अन्तिम बिन्दुसम्मै पुगेर खोजी गर्दा पनि व्यक्ति नभेटिएपछि त्यहाँ मानिस फसेको आशंका हटेको छ। खोजी अभियान पूरा भएपछि सेनाको टोली रसुवाको सदरमुकाम धुन्चे फर्किएको हो।
भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवागढी जलविद्युत् आयोजनासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीपछि आयोजनामा कार्यरत कर्मचारी तथा अन्य व्यक्तिको अवस्थाबारे आशंका उत्पन्न भएपछि सुरुङलगायत जोखिमयुक्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरिएको थियो।