त्रिशूली किनारमा भेटिएका तीन शवको सनाखत, आफन्तलाई हस्तान्तरण

1k Shares

काठमाडौँ । गोरखामा त्रिशूली नदीको किनारमा विभिन्न समयमा फेला परेका तीनवटा शवको सनाखत भएको छ। पहिचान खुलेपछि प्रहरीले शव सम्बन्धित आफन्तलाई हस्तान्तरण गरेको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सनाखत भएका शवमा इलामको सन्दकपुर गाउँपालिका–३ तुलुबुङका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी, गोरखाको पालुङटार नगरपालिका–६ का ५५ वर्षीय यमबहादुर थापा र पाल्पाको तानसेन नगरपालिका–१० का ३४ वर्षीय दीपेन्द्र विष्ट रहेका छन्।

प्रहरीका अनुसार दिवानन्द सुवेदीको शव उनका दाजु सागर सुवेदीलाई हस्तान्तरण गरिएको छ। त्यस्तै यमबहादुर थापाको शव उनकी श्रीमती इन्दिरा चौलागाईंलाई र दीपेन्द्र विष्टको शव उनका दाजु दीपक विष्टलाई बुझाइएको हो।

त्रिशूली नदीको गोरखातर्फको किनारमा भेटिएका ती शवहरू स्थानीयस्तरमा शवगृहको अभाव भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा राखिएको प्रहरीले जनाएको छ। पहिचान प्रक्रिया पूरा भएपछि सम्बन्धित आफन्तलाई शव हस्तान्तरण गरिएको हो।

रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदीको बहावले विभिन्न स्थानमा शव पुर्‍याएको र नदी किनार तथा आसपासका जिल्लामा शव भेटिने क्रम जारी रहेको छ। यस क्रममा फेला परेका शवको पहिचान गरी परिवारलाई बुझाउने काम भइरहेको छ।

सम्बन्धित समाचार