काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले बाढीपहिरोका कारण सुरुङभित्र फसेकाहरूको उद्धारमा स्वदेशी विज्ञताको क्षमता अपुग हुने अवस्था देखिए विदेशी सहयोग लिन सरकार हिचकिचाउन नहुने बताएका छन्।
ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आइतबार आयोजित पार्टी पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवाला पक्षबीचको छलफलमा थापाले बाह्य मुलुकबाट आवश्यक सहयोग लिन सरकारलाई आग्रह गरेको बताए।
‘हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी बाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु,’ थापाले भने।
उनले प्राकृतिक विपत्तिका बेला छिमेकी तथा अन्य मुलुकबाट सहयोग लिनु स्वाभाविक भएको बताए। विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्ने र उद्धार तथा राहतमा देखिएका कमजोरीबारे ध्यानाकर्षण गराउने निर्णय नेपाली कांग्रेसले गरेको उनको भनाइ छ।
थापाले विपद्का बेला सरकारलाई सहयोग गर्नु प्रतिपक्षी दलको कर्तव्य भएको भन्दै सरकारका काममा देखिएका कमजोरी र ‘ग्याप’ औँल्याउनु आलोचना नभई सहयोगकै रूपमा बुझ्नुपर्ने बताए।
उनले विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले संघीय सरकारले स्थानीय तहसँग प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिए। स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उनको भनाइ छ।
देश शोकमा रहेको र हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पार्टीका कुनै पनि तहबाट सार्वजनिक उत्सव तथा भड्किला कार्यक्रम नगर्नसमेत उनले निर्देशन दिएका छन्।
अबको सम्पूर्ण ध्यान उद्धार, राहत सङ्कलन र वितरणमा केन्द्रित हुनुपर्ने भन्दै थापाले हरितालिका तीजलगायतका पर्व सामान्य रूपमा मनाउन सकिए पनि सार्वजनिक उत्सव र भड्किला कार्यक्रम नगर्न आग्रह गरे।
सभापति थापा नेतृत्वको कांग्रेसको विपद् व्यवस्थापन टोली सोमबारदेखि प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्थाको अवलोकन तथा राहत समन्वय गर्ने भएको छ। फिल्डबाट प्राप्त वास्तविक जानकारीका आधारमा सरकारलाई थप सुझाव र दबाब दिने थापाले बताएका छन्।
यसअघि बाढीपहिरोपछि भारत, चीन, दक्षिण कोरिया, अमेरिका, बेलायत, जापान, श्रीलङ्का र बंगलादेशलगायत मुलुकले खोज तथा उद्धारमा सहयोगको प्रस्ताव गरेका थिए।