कृष्णभीरमा बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

960 Shares

काठमाडौँ । बाढीका कारण काठमाडौं–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा बहाव बढेपछि धादिङको कृष्णभीरमा सडक कटान हुँदा यातायात ठप्प भएको हो।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडक केही भासिएको छ। कटानका कारण सडक जोखिमपूर्ण बनेपछि यातायात सञ्चालन गर्न नसकिएको हो।

बाढीका कारण आइतबार बिहान केही समय सडक अवरुद्ध भएको थियो। केहीबेरपछि सडक खुले पनि त्यसको केही समयमै पुनः पूर्णरूपमा बन्द भएको हो।

सडक अवरुद्ध भएपछि काठमाडौं तथा मुग्लिनतर्फ जाने–आउने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। सडकको अवस्था जोखिमपूर्ण रहेकाले तत्काल यातायात सञ्चालनमा कठिनाइ भएको जनाइएको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीमा समेत पानीको बहाव बढेको छ। यसले नदी आसपासका सडक तथा बस्तीमा थप जोखिम बढाएको छ।

सडक कटान भएको क्षेत्रमा सम्बन्धित निकायले अवस्थाको अनुगमन गरिरहेको छ। सडक खुलाउन आवश्यक पहल भइरहेको जनाइएको छ।

सम्बन्धित समाचार