काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बाढीको बहाव बढे पनि तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार बिहान पौने ६ बजे सूचना जारी गर्दै रसुवामा केही बाढी बढेको भए पनि नुवाकोटतर्फ बाढीको अवस्था ठूलो नरहेको जनाएको हो। त्यसका आधारमा हाललाई रसुवा, नुवाकोट र धादिङसम्म नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले स्पष्ट पारेको छ।
महाशाखाका अनुसार जिल्ला प्रहरी कार्यालय रसुवाबाट भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएको थियो। त्यसपछि नदीको तल्लो तटीय क्षेत्रमा जोखिमको अवस्था मूल्यांकन गरिएको हो।
यसअघि भोटेकोशीमा बाढीको ठूलो आवाज सुनिएपछि महाशाखाले रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको थियो।
महाशाखाले हाल ठूलो बाढीको जोखिम नरहेको बताए पनि नदी आसपासका बासिन्दालाई स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनामा ध्यान दिन आग्रह गरिएको छ।