काठमाडौं । बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत र पुनर्स्थापनाका लागि आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ।
आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धित विभिन्न कम्पनीमार्फत उक्त सहयोग उपलब्ध गराइने जनाइएको छ। ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार र आइएमई फाउन्डेसनलगायत कम्पनी सहयोगमा सहभागी हुनेछन्।
ग्रुपअन्तर्गत कार्यरत कर्मचारीका तर्फबाट समेत एक दिनको तलब बराबरको रकम सहयोग गरिने भएको छ।
त्यस्तै, विदेशबाट नेपालमा सहयोग रकम पठाउन आइएमईले निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराएको छ। खल्ती बाई आइएमईमार्फत सरकारको उद्धार कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था पनि मिलाइएको छ। आइएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सामग्री सहयोग गर्ने प्रतिबद्धता पनि ग्रुपले जनाएको छ।
बाढीबाट बेपत्ता भएकाको खोजी, घाइतेको उपचार, प्रभावितका लागि खाद्यान्न तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न लागेको आइएमई ग्रुपले जनाएको छ।
ग्रुपले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ। यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा आइएमई ग्रुपले आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ।