रसुवाबाट फेरि ठूलो बाढीको आवाज, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

1.3k Shares

काठमाडौँ । रसुवाबाट फेरि भोटेकोशी नदीमा बाढी आएको आवाज सुनिएपछि बाढी पूर्वानुमान महाशाखाले रसुवा, नुवाकोट र धादिङलगायत तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार आइतबार बिहान करिब ४ बजेदेखि भोटेकोशी क्षेत्रमा बाढीको बहाव बढेको ठूलो आवाज सुनिएको हो। बाढीको अवस्था यकिन हुन नसकेकाले नदी आसपासका बस्ती तथा तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील गरिएको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले अँध्यारोका कारण बाढीको आकार र क्षतिको अवस्था तत्काल यकिन गर्न नसकिएको बताए। उनका अनुसार करिब एक घण्टादेखि निरन्तर ठूलो आवाज सुनिएको छ।

‘बाढीको ठूलो आवाज आएको छ। अँध्यारो भएकाले हेर्न सक्ने अवस्था छैन। रसुवाको तटीय क्षेत्र यसअघि नै सखाप भइसकेको थियो,’ अधिकारीले भने, ‘धादिङ, नुवाकोट, मन्त्रालय र प्राधिकरणलाई खबर गरिसकेका छौँ। तल्लो तटीय क्षेत्रमा प्रभाव पर्न सक्छ।’ उनले यसअघि बाढी गएको बाटोबाटै पुनः बाढी आएको र बहाव निरन्तर रहेकाले जोखिम अझ बढ्न सक्ने बताए।

त्रिशूली क्षेत्रमा उद्धार तथा राहतमा खटिएको हाम्रो टिम नेपालका विमल पन्तले पनि ठूलो बाढी आएपछि आफूहरू सुरक्षित स्थानतर्फ सरेको बताए। ‘हामी उद्धारका लागि त्रिशूली पारि आएका थियौँ। ठूलो बाढी आएपछि भागाभागको अवस्था छ। अस्तीको भन्दा ठूलो आएको भन्ने खबर छ। हामी अहिले डाँडामा आएर बसेका छौँ,’ उनले भने, ‘धेरै मानिसहरू सुरक्षित स्थानतर्फ लागिरहेका छन्।’

यसैबीच, रसुवा प्रशासनबाट बाढीको सूचना प्राप्त भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै चितवन र काठमाडौँको नागढुंगाबाट सवारीसाधन आवागमन रोकिएको छ।

बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी डिल्लीनारायण पाण्डेका अनुसार बिहान साढे ४ बजेदेखि चितवन र नागढुंगामा सवारीसाधन रोकिएका छन्। उनले रसुवाबाट बाढी आएको सूचना प्राप्त भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरिएको जानकारी दिए।

सम्बन्धित समाचार