नुवाकोट । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सुरुङमा फसेका केही व्यक्ति तीन दिनपछि बाहिर निस्किएका छन्। उद्धार भएर नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको सैन्य तालिम केन्द्रमा पुगेकाहरूले सुरुङभित्र अझै धेरै मानिस फसेको र केही शव गाडीभित्रै रहेको बताएका छन्।
विदुर नगरपालिका–१३ का धनबहादुर तामाङलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको हो। सुरुङमा चालकका रूपमा कार्यरत तामाङका अनुसार बाढी अचानक सुरुङभित्र पसेपछि अवस्था भयावह बनेको थियो।
उनले सुरुङबाट बढीमा २० जना आफैं बाहिर निस्किएको बताए। बाढी घटेपछि आफूहरू माथिल्लो गाउँमा पुगेर बसेको उनको भनाइ छ। उनका अनुसार सुरुङभित्र रहेका केही गाडीमा अझै शवहरू रहेको र धेरै मानिसको अवस्था अज्ञात रहेको छ। ‘बाँचेकाहरूको उद्धार भइदिए हुन्थ्यो,’ तामाङले भावुक हुँदै भनेका छन्।
बाढीमा फसेर उद्धार गरिएकाहरूलाई अहिले त्रिशूलीस्थित नेपाली सेनाको सैन्य तालिम केन्द्रमा ल्याउने क्रम जारी छ। केही घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ भने सामान्य उपचार त्रिशूलीमै भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएका घाइतेहरूको काठमाडौं उपत्यकाका १३ वटा अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच, त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि उत्खनन कार्य पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उद्धारका क्रममा अहिलेसम्म २० फिटभन्दा बढी उत्खनन गरिएको छ।