रसुवाको बाढीमा सद्गुरुको समूहका ८० विदेशी तीर्थयात्री सम्पर्कविहीन
1.5k
Shares
काठमाडौं । आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेवको समूहमा रहेका ८० जना विदेशी तीर्थयात्री रसुवाको सीमाक्षेत्रमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्।
सद्गुरुले भिडियो सन्देशमार्फत दिएको जानकारीअनुसार सम्पर्कविहीन हुनेमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, नेपालसहित २० देशका नागरिक छन्। समूहमा ३४ पुरुष र ४६ महिला रहेको उनले बताएका छन्।
समूहमा अमेरिकाका २२, क्यानडाका १२, अस्ट्रेलियाका ११, बेलायतका ९, जर्मनीका ४, फ्रान्सका ३ र नेपालका ३ जना छन्। त्यस्तै नेदरल्यान्ड्स, न्युजिल्यान्ड, सिंगापुर र स्पेनका २–२ तथा फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, फिलिपिन्स, पोर्चुगल, रुस र दक्षिण अफ्रिकाका एक–एक जना रहेको सद्गुरुले बताएका छन्।
उनका अनुसार तीर्थयात्रीहरूको समूह तिब्बतको सागामा भेटिएको थियो। सीमा क्षेत्रतर्फ जाँदै गर्दा आफूहरूले उनीहरूलाई भेटेको र पछि नेपालतर्फ फर्किने क्रममा पनि समूहसँग भेट भएको उनले बताएका छन्।
समूहका नेता ईशा अंगा प्रविणले बिहान ९ बजेर ५ मिनेटमा आफूहरू अध्यागमन कार्यालय पुगेको जानकारी गराएका थिए। त्यसको करिब नौ मिनेटपछि अर्थात् ९ बजेर १४ मिनेटमा सीमाक्षेत्रमा भीषण बाढी आएको सद्गुरुले बताएका छन्।
‘प्रविण दुई दशकभन्दा बढी समयदेखि हामीसँग आबद्ध छन्। उनले टोलीको नेतृत्व गरिरहेका थिए,’ सद्गुरुले भनेका छन्, ‘उनले अध्यागमन पुगेको जानकारी गराएपछि नेपालतर्फको मोबाइल फोनमा सम्पर्क हुन सकेन।’
सञ्चार र सडक अवरुद्ध
सद्गुरुका अनुसार अहिलेसम्म समूहका कुनै पनि सदस्यसँग सम्पर्क हुन सकेको छैन। सीमाक्षेत्रमा अधिकांश दूरसञ्चार सेवा अवरुद्ध हुनुका साथै सडकहरू समेत अवरुद्ध भएकाले घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको उनले बताएका छन्।
सीमाक्षेत्रमा रहेको अध्यागमन कार्यालयको भवनसमेत बाढीले बगाएको सद्गुरुको भनाइ छ। आफूहरू करिब एक साताअघि अध्यागमनका लागि बसेको भवन पूर्ण रूपमा बगाएको तथा सीमावर्ती बस्तीको ठूलो हिस्सा पनि बाढीले क्षतिग्रस्त बनाएको उनले बताएका छन्।
‘विनाशको स्तर हेर्दा अवस्था निकै गम्भीर देखिन्छ,’ उनले भनेका छन्।
घटनापछि भारत र नेपालमा रहेका सम्बन्धित देशका दूतावासलाई जानकारी गराइएको उनले बताएका छन्। भारतीय, चिनियाँ र अमेरिकी दूतावासमार्फत घटनास्थलमा पुगेर खोज तथा उद्धारमा सहयोग गर्ने अनुमति लिन प्रयास भइरहेको पनि उनले जानकारी दिएका छन्।
नेपाली गाइड पनि सम्पर्कविहीन
सद्गुरुले समूहसँग रहेका नेपाली गाइड तथा उनीहरूका परिवारका सदस्यको अवस्थासमेत यकिन हुन नसकेको बताएका छन्। बाढी प्रभावित सीमाक्षेत्रमा रहेका नेपाली नागरिकको वास्तविक संख्या पनि स्पष्ट हुन नसकेको उनको भनाइ छ।
भारतीय सञ्चारमाध्यममा नेपालतर्फ करिब ४८४ जना सम्पर्कविहीन भएको विवरण आएको उल्लेख गर्दै उनले प्रभावित वा सम्पर्कविहीन हुनेको संख्या १ हजार ५०० भन्दा बढी हुन सक्ने अनुमान गरेका छन्। यद्यपि उक्त संख्या आधिकारिक रूपमा पुष्टि नभएको उनले स्पष्ट पारेका छन्।
बाढी आउनुको कारणबारे पनि अहिलेसम्म यकिन जानकारी प्राप्त नभएको सद्गुरुले बताएका छन्। केही नेपाली सञ्चारमाध्यमले घटनाभन्दा करिब आधा घण्टाअघि ४.९ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरे पनि त्यसको पुष्टि नभएको उनले बताएका छन्। कुनै ताल वा नदी फुटेर अचानक बाढी आएको हुन सक्ने अनुमानसमेत गरिएको उनको भनाइ छ।
सद्गुरुले घटनालाई ‘असाधारण र अत्यन्त दुःखद’ भनेका छन्। उनले सम्पर्कविहीन भएका तीर्थयात्रीका परिवारलाई घटनाबारे जानकारी गराइसकेको बताएका छन्।