काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा भोटेकोशी बाढीपछि अर्को सम्भावित जोखिम देखिएको छ। चीनको जलस्रोत मन्त्रालयले छोचेन खोला र पुरेपु साङ्पो नदीको संगम नजिक प्राकृतिक बाँधयुक्त ताल (ब्यारियर लेक) बनेको जानकारी दिएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। तालबाट पानी बाहिरिन थाले पनि आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ। यससँगै ताल फुट्ने जोखिम बढेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
यसअघि पनि पुरेपु क्षेत्रका हिमताल तथा जलप्रवाहमा आएको परिवर्तनले नेपाल–चीन सीमाक्षेत्रमा बाढीको जोखिम बढाएको अध्ययनहरू सार्वजनिक भएका थिए। पुरेपु ग्लेसियर क्षेत्रमा पानीको तीव्र निकासले यस क्षेत्रको नदी प्रणालीमा ठूलो बाढी ल्याउन सक्ने जोखिमबारे वैज्ञानिकहरूले समेत अध्ययन गरेका छन्।
हाल चीनले तालको पानीको मात्रा, बहाव र बाँधको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ। ताल फुट्ने सम्भावित अवस्थाका लागि आपत्कालीन उद्धार तथा पूर्वतयारीलाई प्राथमिकता दिइएको छ।