भोटेकोशी बाढीपछि विदुर पुगे प्रधानमन्त्री शाह, सुरक्षा प्रमुखसँग छलफल

673 Shares

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति तथा खोज तथा उद्धार कार्यको अवस्थाबारे स्थलगत जानकारी लिन प्रधानमन्त्री वालेन्द्र शाह नुवाकोटको विदुर पुगेका छन्।

प्रधानमन्त्री शाह नेपाली सडकमार्ग हुँदै विदुर पुगेका हुन्। विदुर नगरपालिकास्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा प्रधानमन्त्री शाहले प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूसँग बाढीपछिको अवस्थाबारे ब्रिफिङ लिइरहेका छन्।

ब्रिफिङमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर तथा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सहभागी छन्।

छलफलका क्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतका अधिकारीले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धारको अवस्था र प्रभावित क्षेत्रमा भइरहेका प्रयासबारे जानकारी गराएका छन्।

प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने, प्रभावित नागरिकको सुरक्षा सुनिश्चित गर्ने तथा राहत व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा सम्बन्धित निकायसँग समन्वय गरिरहेका छन्।

भोटेकोशीमा आएको आकस्मिक बाढीपछि रसुवा, नुवाकोटलगायतका जिल्लामा जनधनको क्षति भएको छ। बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा स्थानीय तहको समन्वयमा उद्धार र राहत कार्य जारी छ।

सम्बन्धित समाचार