दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुनर्निर्माणमा जुटौँ : रवि लामिछाने
1.2k
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्का बेला दलगत पहिचानलाई पर राखेर राहत, उद्धार तथा पुनर्निर्माणमा जुट्न सबै राजनीतिक दललाई आह्वान गरेका छन्।
सिंहदरबारमा जारी सर्वदलीय बैठकको सुरुआत गर्दै लामिछानेले विपद् प्रभावित नागरिकलाई सहयोग गर्न राजनीतिक दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुनर्निर्माणमा सबै राजनीतिक दलमा लागौँ।’
लामिछानेले विपद्का बेला सामाजिक सञ्जालको सही सदुपयोग गर्नुपर्नेमा समेत जोड दिएका छन्। भ्रामक सूचना फैलिन नदिन र आवश्यक सूचना प्रभावकारी रूपमा प्रवाह गर्न सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमा सबै एक ठाउँमा उभिनुपर्ने उनको आग्रह छ।
लामिछानेकै आह्वानमा रसुवाको भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिबारे छलफल गर्न सर्वदलीय बैठक बसेको हो।
बैठकमा रास्वपा सभापति लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही तथा जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुरलगायत सहभागी छन्।
त्यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी तथा प्रवक्ता जगदिश खरेललगायत पनि बैठकमा उपस्थित छन्।