काठमाडौं । एक्स्ट्रीम इनर्जी ड्रिंक्सले रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीका अनुसार उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिनेछ। बाढी प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्नुका साथै सरकारको राहत र पुनःस्थापना अभियानमा ऐक्यबद्धता जनाउने उद्देश्यले सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको हो।
कम्पनीले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बाढी तथा विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी र गैरसरकारी निकायहरूको योगदानको पनि कम्पनीले उच्च सम्मान गरेको जनाएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) लाई प्राथमिकतामा राख्दै आएको एक्स्ट्रीम इनर्जी ड्रिंक्सले राष्ट्रमा आइपर्ने संकटपूर्ण परिस्थितिमा नागरिक तथा समुदायको साथमा उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।