सर्वदलीय बैठकमा गृहमन्त्रीको ब्रिफिङ : पूर्वाधारमा ठूलो क्षति, बेपत्ताको विवरण संकलन चुनौतीपूर्ण
792
Shares
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवामा आएको विनाशकारी बाढीपछि उत्पन्न अवस्थाबारे सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा ब्रिफिङ गरेका छन्।गृहमन्त्री गुरुङले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा कार्यका लागि सुरक्षा निकायलाई परिचालन गरिएको जानकारी दिए। सुरुङ तथा अन्य संवेदनशील क्षेत्रमा समेत सुरक्षा निकायलाई उद्धार र सुरक्षाका लागि खटाइएको उनले बताए।
उनका अनुसार बाढीका कारण पूर्वाधारमा ठूलो क्षति पुगेको छ। क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको भन्दै उनले विभिन्न माध्यम र संयन्त्र परिचालन गरेर मानवीय क्षति तथा बेपत्ता व्यक्तिको विवरण पहिचान गर्ने काम भइरहेको जानकारी दिए।
गुरुङले स्वयंसेवक परिचालनका लागि राजनीतिक दल तथा विभिन्न पक्षबाट देखाइएको तत्परता सकारात्मक रहेको बताए। विपद्को यस्तो अवस्थामा स्वयंसेवकको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
उनले आगामी दिनमा हिमताल तथा हिमाली क्षेत्रबाट उत्पन्न हुन सक्ने जोखिमको अध्ययन, अनुसन्धान र पूर्वानुमानका लागि विशेष टोली गठन गर्नुपर्ने आवश्यकता औँल्याए।
त्यस्तै, प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार तथा आवागमनको सम्पर्क पुनःस्थापना गर्न विशेष टोली परिचालन गरिएको उनले जानकारी दिए। रसुवामा आएको बाढीपछि भएको मानवीय तथा भौतिक क्षतिबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बसेको हो।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही तथा जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुरलगायत सहभागी थिए।
त्यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी तथा प्रवक्ता जगदिश खरेलगायतको पनि बैठकमा उपस्थिति थियो।