रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन, प्रहरीका चार कार्यालयमा क्षति

1.3k Shares

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मी बाढीपछि सम्पर्कमा नआएको सम्बन्धित सुरक्षा निकायले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रमा खटिएका ३२ जना प्रहरी अहिलेसम्म सम्पर्कविहीन छन्। केही प्रहरी भने सम्पर्कमा आउन थालेको र अन्य पनि सम्पर्कमा आउने क्रममा रहेको उनले बताए।

‘केही सम्पर्कमा आएका छन्। केही आउने क्रममै होलान्, अहिलेसम्म ३२ जना सम्पर्कविहीन छन्,’ प्रवक्ता काफ्लेले भने।

बाढीले रसुवाका विभिन्न स्थानमा रहेका प्रहरी कार्यालय तथा चौकीमा समेत क्षति पुर्‍याएको छ। डीआईजी काफ्लेका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुबेँसी प्रहरी चौकी, रसुवागढी र मैलुङस्थित प्रहरी कार्यालयमा बाढीले क्षति गरेको छ।

प्रहरी कार्यालयमै क्षति भएपछि त्यहाँ कार्यरत सुरक्षाकर्मीको अवस्थाबारे जानकारी लिनसमेत कठिनाइ भएको छ। बाढीले सञ्चार तथा सडक सम्पर्कमा अवरोध पुर्‍याएका कारण प्रभावित क्षेत्रमा तत्काल सम्पर्क स्थापित गर्न चुनौती देखिएको छ।

यसैगरी, सशस्त्र प्रहरी बलका ९ जना सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन्। सशस्त्र प्रहरीका अनुसार टिमुरेमा रहेको सीमा सुरक्षा गुल्म (बीओपी) मा कार्यरत ९ जना सुरक्षाकर्मी बाढीपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोज तथा उद्धार अभियान अघि बढाएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन्।

यसअघि रसुवाको भोटेकोशीमा आएको अप्रत्याशित बाढीले तटीय बस्ती, सडक, पुल, रसुवागढी भन्सारलगायतका संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। बाढी भोटेकोशी हुँदै नुवाकोट र धादिङतर्फ समेत पुगेपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ।

सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार टोली पुगेसँगै सम्पर्कविहीन सुरक्षाकर्मी तथा अन्य नागरिकको अवस्थाबारे थप विवरण प्राप्त हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार