प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, उद्धार र राहतबारे छलफल

1k Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवासहित नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको छ।

बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत व्यवस्थापन र तत्काल चाल्नुपर्ने सरकारी कदमबारे बैठकमा छलफल भइरहेको छ। प्रधानमन्त्री शाहले यसअघि नै सुरक्षा निकाय तथा सम्बन्धित विपद् व्यवस्थापन संयन्त्रलाई उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिएका थिए।

सरकारले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिसकेको छ। मेडिकल टोलीसहित नेपाली सेनाका हेलिकप्टर प्रभावित क्षेत्रमा पठाइएको छ भने निजी क्षेत्रका हेलिकप्टरलाई समेत खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।

रसुवाको भोटेकोशीमा आएको बाढीले नदी आसपासका बस्ती, सडक, पुल, भन्सार तथा विद्युत् संरचनामा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ। बाढी नुवाकोट हुँदै धादिङतर्फ समेत पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दामा जोखिम बढेको छ।

यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका थिए। उक्त बैठकमा बाढीबाट भएको क्षति र जारी उद्धार अभियानबारे सुरक्षा निकायबाट विवरण प्रस्तुत गरिएको थियो।

आकस्मिक मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा उपचारलाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ। साथै, थप जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र उद्धारका लागि आवश्यक जनशक्ति तथा स्रोत परिचालनबारे समेत निर्णय हुन सक्नेछ।

बाढीका कारण विभिन्न स्थानमा नागरिक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आए पनि मानवीय क्षतिको यकिन विवरण अझै संकलन भइरहेको छ। सरकारले प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गरी खोज, उद्धार र राहतलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

सम्बन्धित समाचार