रसुवा बाढीबारे गृहमन्त्रीले संसद्लाई जानकारी गराउने, आजको बैठक संक्षिप्त हुने

1.1k Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवामा आएको बाढी र त्यसबाट भएको क्षतिबारे प्रतिनिधिसभालाई जानकारी गराउने भएका छन्। यसका लागि आज बस्ने प्रतिनिधिसभाको बैठकलाई संक्षिप्त बनाउने तयारी गरिएको छ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा आकस्मिक समय राखेर सांसदहरूलाई बाढीलगायत समसामयिक विषयमा धारणा राख्न दिने र त्यसपछि गृहमन्त्री गुरुङले सांसदहरूका प्रश्न तथा रसुवा बाढीबारे सरकारको तर्फबाट जानकारी गराउने गरी तयारी भइरहेको छ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार बैठकको कार्यतालिका परिवर्तन गरी संक्षिप्त रूपमा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ।

‘आकस्मिक समय राख्ने र रसुवा बाढीलगायतका विषयमा गृहमन्त्रीले जवाफ दिने गरी प्रतिनिधिसभाको संक्षिप्त बैठक राख्ने गरी छलफल चलिरहेको छ,’ प्रवक्ता गिरीले भने।

यसअघि आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने कार्यसूची तय भएको थियो। त्यस्तै प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि थियो।

तर रसुवामा आएको भीषण बाढीका कारण ती सबै सम्भावित कार्यसूची हटाउने तयारी गरिएको छ। विशेष समयसमेत नराखी आकस्मिक समय मात्र सञ्चालन गर्ने र त्यसपछि गृहमन्त्रीलाई रसुवा बाढीबारे संसद्लाई जानकारी गराउन समय दिने तयारी भइरहेको छ।

बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवाको भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले रसुवागढी भन्सार, तटीय बस्ती तथा विभिन्न भौतिक संरचनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ।

बाढी भोटेकोशी हुँदै नुवाकोट र धादिङतर्फ समेत पुगेपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धार टोली परिचालन गरिएका छन्।

यसैबीच, बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। प्रतिनिधिसभामा गृहमन्त्री गुरुङले सरकारको उद्धार, राहत तथा विपद् व्यवस्थापनसम्बन्धी पछिल्लो अवस्थाबारे जानकारी गराउने तयारी गरेका हुन्।

सम्बन्धित समाचार