भोटेकोशी बाढी : तटीय बस्ती तत्काल सुरक्षित स्थानमा सार्न रास्वपाको आग्रह

1.4k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली तथा आसपासका तटीय क्षेत्रमा जोखिम बढेको भन्दै जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न सरकारसँग आग्रह गरेको छ।

रास्वपाले रसुवा र नुवाकोटका तटीय क्षेत्रसँगै चितवनसम्म बाढीको जोखिम रहेको जनाएको छ। बाढी पूर्वानुमान शाखाले दिएको सुझावलाई ध्यानमा राख्दै विपद् व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण संयन्त्र तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित र उच्च स्थानमा जान आग्रह गरिएको छ। अवस्था सामान्य नहुँदासम्म अत्यावश्यक कामबाहेक नदी तटीय सडकमा यात्रा नगर्नसमेत रास्वपाले अपिल गरेको छ।

रास्वपाले विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सबै संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ। जोखिममा परेका नागरिकको तत्काल उद्धार र पूर्वतयारीका काममा सक्रिय हुन पार्टीका सदस्यहरूलाई समेत निर्देशन दिइएको छ।

आपत्कालीन अवस्था सिर्जना भए नेपाल प्रहरीको टोल–फ्री नम्बर १०० तथा आपत्कालीन नम्बर १२३४ मा सम्पर्क गर्न रास्वपाले आग्रह गरेको छ। साथै, बाढी प्रभावित नागरिकको सुरक्षित उद्धारका लागि स्थानीय प्रशासनसँग समन्वय गर्न पार्टीका सदस्यहरूलाई निर्देशन दिइएको छ।

यसअघि रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढी त्रिशूली नदी हुँदै नुवाकोट र धादिङतर्फ समेत पुगेपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ। त्यसलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित समाचार