काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी सामान्य वर्षाका कारण नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले पछिल्लो २४ घण्टामा रसुवामा उल्लेख्य वर्षा नभएकाले वर्षाकै कारण भोटेकोशीमा ठूलो बाढी आएको भन्न नसकिने बताउनुभएको छ।
अर्यालका अनुसार पछिल्लो २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भए पनि सात मिलिमिटरभन्दा बढी पानी परेको छैन। यति कम वर्षाले भोटेकोशीमा देखिएको जस्तो ठूलो बाढी आउन नसक्ने उहाँको भनाइ छ।
त्यसैले भोटेकोशीमा अचानक ठूलो बाढी आउनुको कारण हिमताल फुटेको हुन सक्ने आशङ्का गरिएको छ। हिमताल फुटेर पानी एक्कासि नदीमा मिसिँदा बाढीको स्वरूप देखिन सक्ने भएकाले यसबारे थप अनुसन्धान गरिने वरिष्ठ मौसमविद् अर्यालले बताउनुभएको छ।
बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको बाढीले टिमुरे बजारसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीको प्रभाव नुवाकोट हुँदै धादिङतर्फ समेत पुगेको छ। त्रिशूली बजार र देवीघाट क्षेत्रसमेत प्रभावित भएको गोरखापत्र अनलाइनले जनाएको छ।
बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि काठमाडौंबाट नुवाकोट, रसुवा, धादिङ र चितवनतर्फ जाने सडक यातायातसमेत प्रभावित भएको छ। उद्धारका लागि नेपाली सेनाले दुई हेलिकोप्टरसहित टोली परिचालन गरेको छ।
यसैबीच, नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। भोटेकोशीको बाढी क्रमशः तल्लो तटीय क्षेत्रमा पुगिरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय तथा स्थानीय प्रशासन उद्धार र व्यवस्थापनमा जुटेका छन्।