पोखरा । गण्डकी प्रदेशमा सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय नेकपा एमालेको संसदीय दलले अनुमोदन गरेको छ। मंगलबार बसेको संसदीय बोर्ड बैठकले सरकारबाट बाहिरिने र मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो। त्यसलाई बुधबार बिहान बसेको संसदीय दलको बैठकले अनुमोदन गरेको हो। अब एमालेका चारै जना मन्त्रीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाउने भएका छन्।
एमालेबाट गण्डकी सरकारमा गोविन्द नेपाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, भीम कार्की भूमि व्यवस्था, कृषि तथा सहकारी, यशोदा रिमाल उद्योग तथा पर्यटन र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री छन्। उनीहरूले बुधबार नै राजीनामा बुझाउने एमाले संसदीय दलका पदाधिकारीले बताएका छन्।
केन्द्रमा नेकपा एमाले र नेकपा एकीकृत भएर अघि बढ्ने सहमति बनेपछि गण्डकीमा पनि एमाले सरकारबाट बाहिरिन लागेको हो। तर एमाले र नेकपा मिल्दा पनि गण्डकीमा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत पुग्दैन।
गण्डकी प्रदेशसभामा हाल ५९ सदस्य छन्। सरकार गठनका लागि ३० सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २२ र नेकपाका ६ गरी दुई दलसँग २८ सांसद छन्। बहुमतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ।
राप्रपाले यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको थियो र अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले पनि पाण्डेलाई विश्वासको मत दिएका थिए।
गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७ सांसद छन्। स्वतन्त्र रूपमा निर्वाचित दीपक मनाङेको पद रिक्त रहेकाले प्रदेशसभा ५९ सदस्यीय कायम छ।
एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिएसँगै गण्डकी प्रदेशमा सत्ता समीकरण थप पेचिलो बन्ने देखिएको छ। मुख्यमन्त्री पाण्डेको सरकार यथावत् रहने वा नयाँ राजनीतिक समीकरण बन्ने विषयमा राप्रपाको भूमिकालाई निर्णायक रूपमा हेरिएको छ।