फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

967 Shares

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराउने भएको छ।

फोरमको मंगलबार बसेको बैठकले प्रधानमन्त्री शाहसँग भेट गरी उपत्यकाको फोहोर व्यवस्थापन, सडकबत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गाको विषयमा छलफल गर्ने निर्णय गरेको हो। फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटको समय मिलाउने जानकारी दिनुभयो।

फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीनवटै तहका सरकारको साझा सरोकारको विषय भएको निष्कर्ष निकालेको छ। दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको पनि फोरमले जनाएको छ।

यसैबीच, भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यसँग प्रतिनिधि सभा सदस्य आशिका तामाङले गरेको व्यवहारप्रति पनि प्रधानमन्त्रीसँग आपत्ति जनाउने निर्णय गरिएको छ।

संसदीय समितिमा पनि छलफल

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका विषयमा प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले पनि छलफल गर्ने भएको छ।

समितिले भदौ ११ गते फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठक बोलाएको छ। बैठकमा सङ्घीय सरकार र स्थानीय सरकारका प्रतिनिधिसहित पूर्वाधार विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र लगानी बोर्डका प्रतिनिधिलाई आमन्त्रण गरिएको समितिका सभापति आशिष गजुरेलले जानकारी दिनुभयो।

उपत्यकामा लामो समयदेखि फोहोर व्यवस्थापन चुनौतीका रूपमा रहँदै आएको अवस्थामा मेयर्स फोरम र संसदीय समितिको सक्रियताले समस्या समाधानका लागि संघ र स्थानीय सरकारबीच थप समन्वयको प्रयास अघि बढेको देखिएको छ।

सम्बन्धित समाचार