दीपक खड्कालाई कुसुम थापाको आग्रह : राजनीतिक विषयलाई अदालतको ‘सेटिङ’सँग नजोड्नुस्

1.1k Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस नेता दीपक खड्कालाई राजनीतिक विषयको समाधान राजनीतिक रूपमा र कानुनी विषयको समाधान कानुनी प्रक्रियाबाटै खोज्न आग्रह गरेकी छन् ।

थापाले सामाजिक सञ्जालमार्फत खड्कालाई सम्बोधन गर्दै राजनीतिक विषयलाई पटक–पटक अदालतको प्रक्रियासँग जोडेर अभिव्यक्ति नदिन आग्रह गरेकी हुन् । उनले राजनीतिक लडाइँ राजनीतिक ढंगले र कानुनी लडाइँ कानुनी प्रक्रियाबाट लड्न आफूहरू तयार रहेको बताएकी छन् ।

थापाका अनुसार खड्काले आफू जेलमा रहेका बेला विपक्षी पक्षले आधिकारिकता पाएको र अहिले त्यस्तो अवस्था आउन नदिन अदालतमा ‘सेटिङ’ मिलाइसकेको आशयको अभिव्यक्ति दिएको चर्चा चलेको छ ।

उनले खड्काको भनाइ उद्धृत गर्दै लेखेकी छन्, ‘पहिला म जेलमा भएको बेला परेकाले उनीहरूले आधिकारिकता पाएका हुन्, नत्र म मेरो मुद्दाजस्तै सेटिङ गर्थेँ । अब योपालि त्यस्तो हुन नदिन मिलाइसकेँ, फलानी–फलानो श्रीमान्लाई राति भेटेको छु, उनीहरूका मान्छे भेटिसकेँ, स्टे पनि आउँछ, आधिकारिकता पनि आउँछ’ भन्ने अभिव्यक्ति आएको आफूले सुनेको थापाले उल्लेख गरेकी छन् ।

यस्ता अभिव्यक्ति सार्वजनिक नगर्न आग्रह गर्दै थापाले अदालतका कर्मचारीदेखि न्यायाधीशसम्मलाई प्रभावित बनाएको वा ‘सेटिङ’ मिलाएको दाबी गर्दै नहिँड्न खड्कालाई चेतावनी दिएकी छन् ।

‘थाहा छ, तपाईँसँग धेरै पैसा छ भन्ने एक वर्षअघि जेन–जी आन्दोलनकै बेलाको भिडियोमा देख्यौँ हामीले पनि । तर छ भन्दैमा अदालतका कर्मचारीदेखि श्रीमान्सम्म मिलाएको छु भन्दै नहिँड्नुहोला,’ थापाले भनेकी छन् ।

अदालतलाई राजनीतिक विवादको विषय बनाउँदा त्यसले न्यायालयप्रतिको जनविश्वासमा असर पार्ने उनको भनाइ छ ।

‘तपाईंको कारणले सोझा मान्छेकै न्यायालयप्रतिको विश्वसनीयता घट्छ । न्यायालयको गरिमा जोगाउने जिम्मा तपाईँ–हामी सबैको हो,’ थापाले लेखेकी छन् ।

थापाले राजनीतिक विवादलाई राजनीतिक प्रक्रियामै समाधान गर्नुपर्ने र कानुनी विषयमा अदालतको निर्णयलाई सम्मान गर्नुपर्नेमा जोड दिएकी छन् ।

सम्बन्धित समाचार