४२ वर्ष रेडक्रसको नेतृत्व गरेका रसुवा सभापति तामाङले दिए राजीनामा

1k Shares

रसुवा । नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाका सभापति बाबुलाल तामाङले पदबाट राजीनामा दिएका छन्। विगत ४२ वर्षदेखि लगातार जिल्ला शाखाको नेतृत्व गर्दै आएका तामाङले सोमबार लिखित रूपमा राजीनामा बुझाएका हुन्।

लामो समयदेखि रसुवामा रेडक्रसको नेतृत्व गर्दै आएका तामाङले आफ्नो घरायसी तथा शारीरिक अवस्थाका कारण अब सभापतिको जिम्मेवारी सम्हाल्न नसक्ने भन्दै राजीनामा दिएका हुन्।

राजीनामा पत्रमा उनले लामो समयदेखि जिल्ला शाखाको सभापति पदमा रहेर काम गर्दै आएको उल्लेख गर्दै व्यक्तिगत कारणले जिम्मेवारी निरन्तरता दिन नसक्ने बताएका छन्।

‘विगत लामो वर्षदेखि यस जिल्ला शाखा सभापति पदमा रही कामकाज गर्दै आएको कुरा विदितै छ। मेरो घरायसी र शारीरिक अवस्थाले गर्दा यस जिल्ला शाखाको सभापति पदमा रही कामकाज गर्न नसक्ने भएकाले आजैका मितिबाट लागू हुने गरी सम्पूर्ण पदाधिकारी र सदस्यसमक्ष यो राजीनामा दिएको छु,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

तामाङले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सभापतिको जिम्मेवारी वर्तमान उपसभापति देकिछोमो तामाङलाई सुम्पिएका छन्।

रेडक्रसमा पुस्तान्तरण र रुपान्तरणको अभियानलाई साथ दिने उद्देश्यले आफूले नेतृत्वबाट अलग हुने निर्णय गरेको तामाङले बताएका छन्।

सम्बन्धित समाचार