काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ हुने भएको छ।
देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको महाधिवेशन प्रक्रिया तत्काल अघि नबढाउन माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
उक्त रिटमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिनुभयो।
देउवा पक्षले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्न निस्सा प्रदान गरिसकेको अवस्थामा त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नहुने जिकिर गरेको छ।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउँदा त्यसले थप कानुनी तथा राजनीतिक जटिलता निम्त्याउन सक्ने देउवा पक्षको तर्क छ।
नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाएको छ।
महाधिवेशनको तयारी अघि बढिरहेका बेला देउवा पक्ष अदालत पुगेपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बनेको छ।
देउवा पक्षले भने पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंगो नलागेसम्म महाधिवेशनका कुनै पनि प्रक्रिया अघि बढाउन नहुने अडान लिएको छ।
अब बिहीबार सर्वोच्च अदालतले रिटमाथि गर्ने सुनुवाइ र सम्भावित आदेशले कांग्रेसको आगामी महाधिवेशनको प्रक्रिया प्रभावित हुने वा नहुने टुंगो लाग्नेछ।