फोहोर व्यवस्थापनसहितका विषयमा प्रधानमन्त्रीलाई भेट्ने मेयर्स फोरमको निर्णय

1.2k Shares

काठमाडौँ । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको साझा संस्था काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापनसहित विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

फोरमको आज बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग यथाशीघ्र भेटघाटको समय मागेर उपत्यकाका स्थानीय तहले भोगिरहेका समस्या तथा समाधानका उपायबारे छलफल गर्ने निर्णय गरेको हो।

बैठकमा उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायत विषय प्रधानमन्त्रीसमक्ष राख्ने निर्णय भएको छ।

फोरमले उपत्यकाको फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न संघीय सरकारसँग आवश्यक समन्वय र सहकार्यका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने जनाएको छ।

सिंहदरबारको बैठकमा भएको व्यवहारप्रति आपत्ति

फोरमले गत भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत आपत्ति जनाएको छ।

बैठकले उक्त घटनाप्रति घोर आपत्ति जनाउँदै यस विषयमा पनि प्रधानमन्त्रीसँगको भेटमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

फोहोर व्यवस्थापनसम्बन्धी छलफलका क्रममा स्थानीय तहका प्रतिनिधिमाथि भएको व्यवहारले स्थानीय सरकार र जनप्रतिनिधिको सम्मानमा प्रश्न उठाएको भन्दै फोरमले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने जनाएको हो।

प्रधानमन्त्रीसँग यसअघि पनि छलफल

फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहँदादेखि नै छलफल गर्दै आएको जनाएको छ।

तत्कालीन सरकार र नेप बेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा उक्त सम्झौता खारेज गरी फोहोर व्यवस्थापनका लागि नयाँ विकल्प अघि बढाउने विषयमा फोरमका बैठकमा पटक–पटक छलफल हुँदै आएको फोरमले जनाएको छ।

उपत्यकामा लामो समयदेखि फोहोर व्यवस्थापन चुनौतीका रूपमा रहँदै आएको भन्दै फोरमले यसको दीर्घकालीन समाधानका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।

तीनै तहका सरकारको साझा दायित्व

फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको स्पष्ट पारेको छ।

फोहोर व्यवस्थापनलाई व्यवस्थित, दिगो र दीर्घकालीन बनाउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्ने फोरमको निष्कर्ष छ।

स्थानीय तहले फोहोर व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्दै आए पनि आवश्यक पूर्वाधार, जग्गा तथा नीतिगत सहजीकरणमा संघीय सरकारको सहयोग अपरिहार्य रहेको फोरमले जनाएको छ।

प्रधानमन्त्रीसँगको भेटमा फोहोर व्यवस्थापनसँगै सडक बत्तीको शुल्क, जग्गाको भोगाधिकार र आवश्यक जग्गा व्यवस्थापनका विषयमा स्पष्ट समाधान खोज्न पहल गरिने फोरमले जनाएको छ।

सम्बन्धित समाचार