आँखाको समस्याका कारण प्रधानमन्त्री बालेनले संसदमा कालो चस्मा लगाउने, यस्तो छ मेडिकल रिपोर्ट

1.6k Shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बुधबार प्रतिनिधिसभामा सांसदहरूसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा कालो चस्मा लगाएर उपस्थित हुने भएका छन्। उज्यालोमा हेर्न असहज हुने आँखाको समस्याका कारण चिकित्सकले ‘शेड्स’ प्रयोग गर्न सुझाव दिएपछि प्रधानमन्त्रीले संसदमा पनि कालो चस्मा लगाउन लागेका हुन्।

यसअघि संसद् बैठकमा कालो चस्मा प्रयोग गर्न नमिल्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको थियो। स्वास्थ्यसम्बन्धी कारणले कालो चस्मा प्रयोग गर्नुपर्ने भए मेडिकल रिपोर्टसहित संसद् सचिवालयलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको थियो।

सोहीअनुसार प्रधानमन्त्री शाहको आँखासम्बन्धी मेडिकल रिपोर्ट संसद् सचिवालयमा प्राप्त भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो।

‘यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद् बस्दा कालो चस्माको प्रयोग नगर्ने निर्णय गरेको थियो। यदि प्रयोग गर्नुपरेमा प्रयोग गर्नुपर्ने कारण अथवा मेडिकल रिपोर्टसहितको पत्र आवश्यक पर्ने भन्ने थियो। कालो चस्मा प्रयोग गर्न आवश्यक छ भनेर प्रधानमन्त्रीज्यूको रिपोर्ट पहिले नै प्राप्त भइरहेको छ,’ प्रवक्ता गिरीले भन्नुभयो।

उज्यालोमा हेर्न समस्या भएपछि परीक्षण

उज्यालोमा हेर्न असहज भएको भन्दै प्रधानमन्त्री शाहले गत साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराउनुभएको थियो। उहाँको आँखाको परीक्षण लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गर्नुभएको थियो।

चिकित्सकले दिएको रिपोर्टमा प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिनाइ हुने र ‘ड्राइ आई डिजिज’ (Dry Eye Disease) देखिएको उल्लेख छ।

रिपोर्टमा भनिएको छ कि उज्यालोमा हेर्दा हुने असहजता कम गर्न प्रधानमन्त्रीलाई कार्बोक्सिमेथाइलसेल्युलोज ०.५ प्रतिशतको आई ड्रप आवश्यकताअनुसार बारम्बार प्रयोग गर्न सुझाव दिइएको छ।

त्यसैगरी, उज्यालो वातावरणमा रहँदा आँखामा हुने असहजता कम गर्न ‘ओकुलर प्रिकसनरी मेजर्स’ अर्थात् सुरक्षात्मक चस्मा (शेड्स) प्रयोग गर्न चिकित्सकीय सल्लाह दिइएको छ।

यस्तो छ प्रधानमन्त्रीको मेडिकल रिपोर्ट

नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षणपछि लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले जारी गरेको रिपोर्टमा प्रधानमन्त्री शाहबारे यस्तो उल्लेख गरिएको छ :

“Right Honourable Prime Minister Balendra Shah has been examined by me for the complaint of difficulty in seeing in bright light. He has been found to have Dry eye disease.”

रिपोर्टमा अगाडि भनिएको छ :

“He has been prescribed Carboxymethylcellulose 0.5% eye drop to be used frequently as required.”

चिकित्सकले उज्यालो वातावरणमा रहँदा आँखाको असहजता कम गर्न शेड्स प्रयोग गर्नसमेत सुझाव दिएका छन्।

रिपोर्टको अन्त्यमा लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकाल, एसोसिएट प्रोफेसर, एमबीबीएस, एमएस (अप्थाल्मोलोजी), फेलो भिट्रियो–रेटिनल सर्जरी, एनएमसी नम्बर ४५९१ उल्लेख गरिएको छ।

यस चिकित्सकीय सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बुधबार संसद्मा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा कालो चस्मा लगाएर सहभागी हुने भएका हुन्।

सम्बन्धित समाचार