गण्डकी सरकारबाट एमालेका मन्त्री फिर्ता हुने

1k Shares

पोखरा । नेकपा (एमाले) ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले संसदीय दलको बोर्ड बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

एमाले संसदीय दलका उपनेता लिलबहादुर थापामगरले नयाँ राजनीतिक परिस्थितिका कारण सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी भइरहेको छ। मन्त्रीहरूको राजीनामापछि प्रदेशमा नयाँ राजनीतिक समीकरण निर्माणका लागि अन्य दलसँग संवाद अघि बढाइने उहाँले बताउनुभयो।

“एमालेका मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको छ,” थापामगरले भन्नुभयो, “नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने विषयमा नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य दलसँग एमालेले संवाद सुरु गर्छ।”

एमाले र नेकपाबीच अन्य प्रदेशमा सत्ता सहकार्य सुरु भइसकेको अवस्थामा गण्डकी प्रदेशमा पनि दुई दलबीच सहकार्य गरेर नयाँ सरकार निर्माणका लागि पहल अघि बढाउने तयारी रहेको थापामगरले बताउनुभयो।

चार मन्त्री सरकारमा सहभागी

नेपाली कांग्रेसको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारमा एमालेबाट चार जना मन्त्री सहभागी छन्। गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, भीम कार्की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री हुनुहुन्छ।

गत वैशाख २ गते भएको मन्त्रिपरिषद् हेरफेरका क्रममा एमालेका यी चारै जना मन्त्रीको जिम्मेवारीमा पुग्नुभएको थियो।

एमालेले मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै गण्डकी प्रदेश सरकारको सत्ता समीकरणमा फेरबदल हुने देखिएको छ। एमाले र नेकपाबीच सहकार्यको सम्भावना बढेपछि प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच छलफलसमेत तीव्र हुने भएको छ।

सम्बन्धित समाचार