दोलखा । जिरी नगरपालिका–६ चेप्टेका आर्थिक रूपमा विपन्न तथा अपाङ्ग रत्नबहादुर जिरेललाई उपचार तथा दैनिक जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ।
जिरी नगरपालिका–७ का वडा अध्यक्ष शान्त नेपालीको पहलमा हाल अमेरिकामा रहेका जिरी–७ निवासी समाजसेवी प्रमोद खड्काले जिरेललाई उक्त रकम सहयोग गरेका हुन्। सहयोगस्वरूप प्राप्त ३० हजार रुपैयाँमध्ये १५ हजार रुपैयाँ बराबरको खाद्यान्न खरिद गरी जिरेललाई उपलब्ध गराइएको छ। आर्थिक अभावका कारण दैनिक गुजारा चलाउनसमेत समस्या भोगिरहेका जिरेललाई खाद्यान्न सहयोगले केही राहत पुग्ने अपेक्षा गरिएको छ।
बाँकी १५ हजार रुपैयाँ भने जिरेलको औषधि उपचारमा खर्च गर्ने गरी आकाशदीप सहकारी संस्थामा जम्मा गरिने वडा अध्यक्ष नेपालीले जानकारी दिएका छन्।
वडा अध्यक्ष नेपालीका अनुसार जिरेलको आर्थिक अवस्था कमजोर हुनुका साथै अपाङ्गताका कारण नियमित आयआर्जन गर्न कठिनाइ हुँदै आएको छ। यस्तो अवस्थामा उपचार, औषधि तथा दैनिक उपभोग्य सामग्रीको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले सहयोग जुटाइएको हो।
समाजसेवी खड्काले आफ्नो गाउँका आर्थिक रूपमा विपन्न तथा अपाङ्ग व्यक्तिलाई आवश्यक परेको समयमा सहयोग गर्ने उद्देश्यले रकम उपलब्ध गराएको बताइएको छ। विदेशमा रहेर पनि आफ्नो स्थानीय समुदायका नागरिकको समस्याप्रति चासो देखाउँदै सहयोग गरेको भन्दै स्थानीयले खड्काको प्रशंसा गरेका छन्।
वडा अध्यक्ष नेपालीले पनि आर्थिक रूपमा विपन्न तथा समस्यामा परेका नागरिकलाई स्थानीयस्तरबाटै सहयोग र सहकार्य जुटाउन आवश्यक रहेको बताएका छन्। उनले जिरेलको अवस्थाबारे जानकारी पाएपछि सहयोगका लागि पहल गरिएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा समन्वयका लागि प्रयास गरिने बताए।
अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न नागरिकको दैनिक जीवनयापन र उपचारमा सहयोग पुर्याउने यस्ता मानवीय पहलले समुदायमा आपसी सहयोग र सामाजिक उत्तरदायित्वको भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ।