लुम्बिनीमा तीन मन्त्रीले आज शपथ लिँदै

1k Shares

दाङ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोमबार दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा नियुक्त गरेका थिए।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथ मंगलबार दिउँसो ३ः२५ बजे बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा हुनेछ।

नेकपा (एमाले) र नेकपाबीच सत्ता सञ्चालनका लागि गठबन्धन बनेपछि मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। नेकपाबाट तीन मन्त्री सरकारमा सहभागी भएसँगै प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो।

यसै क्रममा प्रदेश सरकारले यसअघि नियुक्त मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरेको छ। तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।

यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयमा सारिएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

सम्बन्धित समाचार