स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजबाट शुल्क उठाउने इरानी संसद्को प्रस्ताव पारित

1.4k Shares

तेहरान । इरानको संसद्ले रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क असुल गर्ने प्रस्ताव पारित गरेको छ।

इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगको आइतबार बसेको बैठकले होर्मुज जलडमरूमध्य प्रयोग गर्ने जहाजबाट विभिन्न सेवाबापत शुल्क लिने प्रस्ताव स्वीकृत गरेको हो।

आयोगका प्रवक्ता हसन कास्कावीका अनुसार बैठकले ‘स्ट्रेट अफ होर्मुजको सुरक्षा र प्रगतिका लागि रणनीतिक कार्ययोजना’ को धारा ३ अनुमोदन गरेको छ। अघिल्लो बैठकमा उक्त धारामा सहमति जुट्न नसके पनि पछिल्लो छलफलपछि प्रस्ताव पारित गरिएको उनले बताए।

कास्कावीका अनुसार इरानले उपलब्ध गराउने समुद्री सेवा, वातावरणीय सेवा, विशेष परिस्थितिमा इन्धन आपूर्ति, बिमा, सुरक्षा तथा अन्य सेवाबापत शुल्क लिइनेछ।

स्ट्रेट अफ होर्मुज पार गर्ने अनुमति पाएका देशका जहाजबाट उक्त शुल्क असुल गरिने व्यवस्था गरिएको छ। शुल्क इरानी रियाल वा इरानले तोकेको अन्य मुद्रामा बुझाउन सकिनेछ।

इरानी पक्षले यो व्यवस्था जलमार्गको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित रहेको जनाएको छ। तटीय राष्ट्रहरूको अधिकार तथा सुरक्षालाई ध्यानमा राखेर शुल्क निर्धारण गरिने कास्कावीको भनाइ छ।

उनले अन्तर्राष्ट्रिय कानुनले जलमार्गमा आवागमनको स्वतन्त्रता सुनिश्चित गरे पनि तटीय राष्ट्रको सार्वभौमिकता र सुरक्षाको सम्मान गर्नुपर्ने बताए।

कास्कावीले सन् १९८२ को समुद्री कानुनसम्बन्धी महासन्धि स्वीकार गर्दा ओमानले आफ्नो राष्ट्रिय सार्वभौमिकता र सुरक्षामा आँच आउन नदिने विषय स्पष्ट गरेको स्मरण गराए।

उनका अनुसार फारसको खाडी तथा स्ट्रेट अफ होर्मुज क्षेत्रमा आफ्नै भौगोलिक, सुरक्षा र राजनीतिक परिस्थिति रहेकाले त्यसलाई समेत ध्यानमा राखेर जलमार्गसम्बन्धी व्यवस्था गर्नुपर्ने हुन्छ।

स्ट्रेट अफ होर्मुज विश्वको महत्वपूर्ण ऊर्जा तथा व्यापारिक जलमार्गमध्ये एक भएकाले इरानको पछिल्लो निर्णयले अन्तर्राष्ट्रिय समुद्री यातायात तथा क्षेत्रीय व्यापारमा समेत चासो बढाएको छ।

सम्बन्धित समाचार