छोरी बचाउ राष्ट्रिय जागरण अभियान चलाऔँ’ भन्दै सरकारको ध्यानाकर्षण

1.2k Shares

काठमाडौं। प्रतिपक्षी दल नेकपाले बालिका तथा किशोरीमाथि हुने हिंसा रोक्न ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले बाराकी दुई वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

दुलालले बालिकामाथि हुने हिंसा तथा अपराधका घटना रोक्न राज्यस्तरबाटै प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने बताए।

‘कोपिलामै खोसिएका हृदयविदारक घटनाप्रति दलको तर्फबाट दुःख व्यक्त गर्दछु। छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गरौँ, म आह्वान गर्दछु,’ उनले भने।

प्रधानमन्त्रीको प्रोटोकलप्रति प्रश्न

प्रमुख सचेतक दुलालले प्रधानमन्त्री बालेन शाहले सार्वजनिक पदको मर्यादा र भीभीआईपी प्रोटोकलको ख्याल गर्नुपर्ने बताएका छन्।

हालै प्रधानमन्त्री शाहले कास्की र मुस्ताङ भ्रमण गरेको प्रसंग उल्लेख गर्दै उनले प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले सार्वजनिक कार्यक्रम तथा भ्रमणका क्रममा आवश्यक प्रोटोकल पालना गर्नुपर्ने बताए।

‘सरकारबिनाको राज्य, प्रधानमन्त्रीबिनाको सरकार कल्पना गरिएको हुँदैन। प्रधानमन्त्री भएपछि सार्वजनिक व्यक्ति नै हुन्छ। प्रधानमन्त्रीले प्रोटोकल ख्याल गर्नुपर्छ,’ दुलालले भने।

उनले प्रधानमन्त्रीको भ्रमण तथा सार्वजनिक गतिविधिमा राज्यको मर्यादा र संवैधानिक जिम्मेवारीलाई ध्यान दिनुपर्नेमा जोड दिए।

महँगी नियन्त्रण गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दुलालले बढ्दो महँगीप्रति समेत सरकारको ध्यानाकर्षण गराएका छन्। उनले उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने मूल्यवृद्धि नियन्त्रणका लागि आवश्यक कदम चाल्न अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आग्रह गरे।

उनले जनजीविकासँग जोडिएका समस्या समाधानमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।

सम्बन्धित समाचार