काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारप्रति जनताको प्रभाव र विश्वास क्रमशः घट्दै गएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले पछिल्लो समय समाजमा अराजकता, अस्थिरता र अपराधका घटना बढ्दै गएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
उनले बारा र सप्तरीमा भएका पछिल्ला घटनालाई मात्र आधार बनाएर समस्या बुझ्न नहुने बताए। सरकार गठन भएयता कप्तानगन्जको घटना, धार्मिक तथा सामाजिक सद्भावमा देखिएका समस्या, मिटरब्याजपीडित, लघुवित्तपीडित तथा चिकित्सकसँग सम्बन्धित आन्दोलनलगायतका घटनाले समाजमा असन्तुष्टि बढिरहेको उनको भनाइ छ।
दिनका दिन भइरहेको यसले के देखाउँछ भने हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ, सिंहले भने।
उनले अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार तथा विभिन्न आन्दोलनका कारण नेपाली जनता प्रभावित भइरहेको बताए।
सिंहले समाजमा राज्य र सरकारप्रतिको विश्वास कमजोर हुँदै जाँदा अपराध तथा बेथिति बढ्ने चेतावनीसमेत दिए।
‘जब समाजमा बेथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ,’ उनले भने, ‘यसलाई राम्रो छलफलको आवश्यकता छ।’
सरकारले पछिल्ला घटनाबाट पाठ सिक्दै जनताको विश्वास पुनः कायम गर्न प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो।