काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने भएको छ।
सर्बियाको राजधानी बेलग्रेडमा यही भदौ १५ र १६ गते उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ। मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयअनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलले उक्त कार्यक्रममा सहभागिता जनाउने भएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय स्मरणसभामा सहभागी हुन मन्त्री खनाल भदौ १४ गते साँझ सर्बियातर्फ प्रस्थान गर्नेछन्। उनी भदौ १७ गते नेपाल फर्कने कार्यक्रम छ।
सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो। पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो।
स्मरणसभामा विश्वका विभिन्न मुलुकका नेता, सरकारी प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ। नेपालको संविधानले समेत असंलग्न आन्दोलनप्रतिको प्रतिबद्धतालाई राष्ट्रिय नीतिका रूपमा स्वीकार गरेको छ।
नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि विभिन्न शिखर सम्मेलन, मन्त्रीस्तरीय बैठक तथा अन्य उच्चस्तरीय बैठकमा निरन्तर सहभागिता जनाउँदै आएको छ।
असंलग्न आन्दोलनमा नेपालले सुरुदेखि नै रचनात्मक भूमिका निर्वाह गर्दै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आगामी स्मरणसभामा पनि नेपालले असंलग्नता, सार्वभौमिक समानता, पारस्परिक सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वप्रतिको आफ्नो प्रतिबद्धता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।